बझाङः तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् ।

सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

‘सडकका लागि जमिन कटान गर्न थालेको ४ वर्ष भएको थियो । गाउँलेले श्रमदान र चन्दा दिएकै थिए । तर गाउँपालिकाबाट सहयोग पाइएन । धैरै वर्ष भयो अब त जसरी पनि काम फत्ते गर्नुपर्छ भनेर सक्नेले श्रीमतीका गहना पनि बेचेर सडक बनाउन पैसा दियौं,’ तलकोट–५ का अम्मरराज जोशीले भने ।


उनले पनि श्रीमतीले नाक, कान र घाँटीमा लगाएका दुई तोलाजति सुनका गहना बेचेर सडक निर्माणमा सहयोग गरेको बताए । उनीजस्तै सक्नेजति अन्यले पनि यसरी नै गहना बेचेर सडक बनाउन खर्चिएका हुन्। नागरिक दैनिकमा समाचार छ ।