काठमाडौंः कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंगलबारदेखि हेटौंमा जारी छ ।

७७ ओटै जिल्लाका सभापतिहरुको भनाई राख्ने क्रममा बुधबार ३८ जिल्ला सभापतिले भनाई राखेका थिए भने आज १६ जिल्लामा सभापतिले आफ्ना भनाई राखिसकेका छन् । आफ्ना भनाइ तथा सुझाव राख्ने क्रममा अधिकांश जिल्ला सभातिहरुले पार्टी नेतृत्वको आलोचना गर्दै, सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई एक ठाउँमा उभिन भनेका छन् । उनीहरूले कम्युनिस्ट मिलेपछिको चुनौती सामना गर्न दुई नेता एक भएरै जानुपर्ने सुझाब समेत दिएका छन्।

सभापतिहरुले संघीय संरचनाअनुसार पार्टीका संरचना नबन्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको, गुटबन्दी मौलाउँदा पार्टीको तल्लो तहसम्मले राम्रोसँग काम गर्न नसकेको, पार्टी सरकारमा हुँदा प्रभावकारी काम गर्न नसकेको, प्रधानन्यायाधीशविरुद्ध महाअभियोग, अख्तियार प्रमुख प्रकरण, निर्वाचनमा अन्तर्घात, आइजिपी प्रकरण जस्ता विषयले पार्टी पराजय भएको अभिब्यिक्तहरु दिएका छन् ।


जिल्ला सभापतिहरूले वर्तमान चुनौती सामना गर्न नेताहरू एकढिक्का भएर जानुपर्ने सुझाब दिएका छन् । निर्वाचनमा बेहोर्नुपरेको पराजयपछि पार्टीलाई सुदृढ गर्दै कम्युनिस्टसँग बलियो प्रतिस्पर्धा गर्ने पार्टी बनाउन संगठन, विधानसहितका विषयमा पार्टीले प्रस्ट पार्नुपर्ने र छिटो महाधिवेशन गर्नुपर्ने माग समेत गरेको गुल्मीका पार्टी सभापति भुवन प्रसाद क्षेष्ठले जानकारी दिएका छन् ।

संगठनलाई पुनर्जीवन दिनु तत्कालको आवश्यकता ठान्दै बर्दियाका सभापति सञ्जय गौतम भने, ‘गाउँ, नगर, प्रदेशसम्मका संरचना तत्काल सुरु गर्नुपर्‍यो । पार्टीमा गुटबन्दी व्यापक हुँदा हामी कमजोर भइरहेका छौँ । नेताहरूले आत्मालोचना गर्नुपर्छ । कम्युनिस्ट एक भए अनि हामी पराजित भयौँ भनेर मात्र पुग्दैन ।’ कार्यक्रममा रामेछापका सभापति लवश्री न्यौपानेले आलोचनामाथि आलोचना गर्नुभन्दा संगठन सुदृढीकरणतर्फ अग्रसर हुनु नै सिंगो पार्टीका लागि फलदायी हुने अभिब्यक्ति दिएका छन् ।

कालिकोटका सभापति रहेका हर्षबहादुर बमले कांग्रेसभित्र विवाद अन्त्य भएको सन्देश भेलाले दिन सकेन भने हामी सफल हुन सक्दैनौं भन्दै स्थानीय, प्रदेश र संघीय तीनै तहमा संगठन गठन गर्ने वा अब कसरी अघि बढ्ने भन्ने सवाल साझा बनाउन जरुरी रहेको बताए । यसरी अधिकांश जिल्ला सभापतिहरुको आफ्नो रोलक्रम अनुसार भनाई तथा सुझावहरु दिईरहेका छन् ।

आज सम्पन्न हुने जिल्ला सभापतिहरुको भेलाले हेटौंडा घोषणापत्र जारी गर्ने पनि बताइएको छ ।