थाइल्यान्डः उत्तरी थाईल्यान्डस्थित एउटा गुफामा हराइरहेका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई ९ दिनपछि जीवितै फेला पारिएको छ।

ती स्कूले विद्यार्थी र तिनका प्रशिक्षकको समूह गत ९ दिनदेखि सम्पर्कविहीन भएका थिए। हराइरहरेका विद्यार्थीहरू र उनीहरूका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरूलाई घण्टौँ लागेको थियो।  गुफाको मूलद्वारबाट करिब ४ किलोमिटर पर उनीहरू भेटिएका हुन्।

गुफामा विद्यार्थीहरू जीवितै पाइएपछि अब उनीहरूलाई निकाल्ने चुनौती छ। थाईल्यान्डमा उद्धारकर्ताहरूले पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटिएका उनीहरूलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन् ।


। थाई सेनाका अनुसार अब तिनले बाहिर निस्किन कि पौडी खेल्न सिक्नुपर्ने कि पानीको सतह घटेपछि निस्किन महिनौँ कुर्नुपर्ने हुनसक्छ। उद्धारकर्ताहरूले गोता लगाउने उपकरणको प्रयोगमार्फत् फसेकाहरूलाई निकाल्ने या उनीहरूमा शक्ति आएपछि र त्यहाँको पानी तानेपछि मात्रै निकाल्नेबारे अब निर्णय गर्नुपर्ने हुन्छ।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए। उनीहरु हराइसकेपछि पूरै थाईल्यान्ड र अन्यत्र पनि चासो र चिन्ता व्यक्त भएको थियो। फसेकाहरूको उद्धार गर्न लागिएको खबरसँगै उनीहरूको परिवारका सदस्यहरू खुशी भएका छन्। बीबीसी