हिन्दु धर्म अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । ज्योतिषशास्त्रका अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ । साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ ।

ज्योतिषीय मान्यता अनुसार बृहस्पति अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मिक क्रियाकलाप गर्नुहुँदैन ।


। शुक्र अस्त भएपछि शुक्र ग्रहबाट आउने तत्त्व हामीमा प्राप्त हुँदैन । शुक्र विशेषतः मज्जा तत्त्व प्रदान गर्ने ग्रह हो । धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।

नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् । नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् । काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् । प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।

गुरु शुक्र अस्तमा गर्न नहुने कामहरु

वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन,पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान , देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन । साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन , विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।

वृहस्पति र शुक्र अस्त भएको समयमा वेद धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले कामना गरेबमोजिमको फल दिँदैन । पुरोहित र यजमान दुबैलाई फल प्राप्त नहुने निश्चित छ । यस्तो समयमा पूजापाठ तथा अन्य धार्मिक कार्य गरेर (नित्य नैमित्तिक बाहेक) दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्र अनुसार पतित हुने शास्त्रमा उल्लेख गरिएको छ ।


प्रकाशित मितिः शुक्रबार, भदौ २०, १७:५९