गुल्मीः गुल्मीका अधिकांश ठाउँमा कृषकहरुका लागि बाँदरले आतंक नै फैलाउने गरेको छ । बाँदरले खेतबारीमा लगाएको खेतीपाती नै नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।

जिल्लाको मालिका गाउँपालिकाका विभिन्न स्थान, छत्रकोट गाउँपालिकाका विभिन्न स्थान लगायत जिल्ला भरका अधिकांश कृषकहरु बाँदरबाट पीडित बनेको स्थानीयहरुले गुनासो गर्दे आएका छन् ।

गुल्मी घमिरका राजु लम्सालले बाँदरले कृषकको वर्षभरिको खेतीपाती एकैछिनमा नष्ट पारेको बताउँछन् । दिनानुदिन बाँदर लखेट्ने कामले आफू वाक्क परेको उनी बताउँछन् । उनले स्थानीय तह योजनाबिहिन भएको आरोप लगाए । कृषकहरुको खेतीपाती बाँदरले नष्ट गर्दै आएको भएपनि यसको दिर्घकालिन उपाय गुल्मीका कुनै स्थानीय तहमा छैन ।


महिलाहरुका लागि त बाँदर शत्रु नै बनेको छ । महिला मात्रै बाँदर लखेट्न गए त बाँदर नभाग्ने घमिरका महिलाहरुको गुनासो छ । जसबाट अधिकांश स्थानीयलाई त्रसित नै बनेका छन् ।

जिल्ला कै छत्रकोट गाउँपालिका भालुपानीका लक्ष्मण पन्त पनि बाँदर आतंकबाट पीडित नै बनेका छन् । करिब तीन सयको हुलमा आउने बाँदरले खेतबारीको अन्नपात सबै नष्ट गर्ने गरेको छ । कुनै हातहतियार बिना त बाँदर नजिक जान नसकिने पन्तको भनाइ छ । उनले स्थानीय तह यस विषयमा योजना बिहिन तथा कुनै पहल नगर्नु दुःखद बिषय भएको गुनासो समेत ब्यक्त गरे ।

जिल्लाका विभिन्न ठाउँमा बाँदरले आतंक नै मच्चाएको छ । कृषकहरु पीडित बनेका छन् । तर यसमा स्थानीय तहको कुनै चाँसो तथा पहल भने अहिलेसम्म भएको छैन ।

  • मनोज कार्की

प्रकाशित मितिः मंगलबार, मंसिर २४, ०९:२३