काठमाडौँ- असार पहिलो हप्तादेखि गोँगबु-सिनामंगल रुटमा ५० सिट क्षमता भएका ठूला बस सञ्चालनमा आउने भएका छन्। सामाखुशी यातायात व्यवसायी समितिले एशियाली विकास बैंकको अनुदानमा  दिगो सार्वजनिक यातायात सेवामार्फत  १७ बस सञ्चालन गर्न लागेको हो।

बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ। सामाखुशी यातायात व्यवसायीले ७ करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिएको छ । असार पहिलो हप्ता १० बस र त्यसपछि ७ बस सञ्चालनमा ल्याउने समितिले जनाएको हो ।


। सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले एक करोड ९० लाख अनुदान दिएको छ। यस रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल-रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन्।