गोरखाः गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको हो ।

स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।


मृत भेटिएकाहरुको मुखमा सेतो फिज पनि देखिएको जानकारी दिँदै एसपी गुरुङले भने,’ हामी थप अनुसन्धानमा छौं ।’

शव जौबारीस्थित अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने बताइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १५:००