काठमाडौं: साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।

बयानका क्रममा अदालतका अधिकारीहरूले जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रस्तुत गरेको अभियोगपत्र पढेर सुनाएका थिए। अभियोगपत्रमा समावेश गरिएका अन्य अभियुक्तका बयान र घटनाक्रममा गोरेको भनाइ लिइएको स्रोतले जनायो। यसैगरी सुन तस्करी, हराएको भनिएको सुन खोजीका क्रममा विभिन्न व्यक्तिलाई दिइएको यातना, शाक्यको मृत्युलगायत विषयमा प्रश्न सोधिएको थियो।


। गोरेले सुन हराएपछि खोजी गर्ने क्रममा शाक्यसहितका केही व्यक्तिलाई सोधपुछ र सामान्य कुटपिट गरेको तर हत्यामा आफ्नो संलग्नता नभएको बताए।

समग्र घटनाबारे सूक्ष्मरूपमा बुझ्नुपर्ने भएकाले बयान अझै केही दिन लम्बिन सक्ने अदालत स्रोतले जनाएको छ। बिहीबार गोरेबाट लिइएको बयान १० पानामा लिपिबद्ध गरिएको छ। यसअघि बुधबार ६ पाना बयान लिइएको थियो।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रमाणका रूपमा इजलाससमक्ष पेस गरेका विभिन्न श्रव्यदृश्य प्रस्तुत गर्न बाँकी छ। शाक्यलगायतलाई यातना दिइएको, सम्बन्धित अन्य केही घटना र अभियुक्तबीचको टेलिफोन कुराकानीका श्रव्यदृश्य पेस गरिएको छ।

अदालतमा कडाइ
गोरेलाई प्रहरी कार्यालय र अदालत आउजाउ गराइँदा कडा सुरक्षा व्यवस्था अपनाइने गरेको छ। बयानका बेला इजलासमा प्रवेश गर्न कानुन व्यवसायीलाई समेत कडाइ गरिएको छ।

स्रोतका अनुसार बयानमा गोरेले यो प्रकरणमा ‘उच्च तहका व्यक्तिहरू’ को पनि नाम जोड्न सक्ने भन्दै उनलाई कडा सुरक्षामा राखिएको हो। तत्कालका लागि बयान पनि अत्यन्त गोप्य र सुरक्षित राखिने स्रोतले जनाएको छ।

गोरेले बुधबार आफूलाई असुरक्षा महसुस भएको भन्दै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका थिए। उनका तर्फबाट अधिवक्ता यामबहादुर मगरले वकालतनामा दर्ता गराएका छन्।

गोरेको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस हुनेछ। त्यसपछि गोरेतर्फका कानुन व्यवसायीले बहस प्रस्तुत गर्नेछन्। बहस सुन्ने र थप प्रमाण बुझेर थुनछेकको आदेश हुने अदालत स्रोतले जनाएको छ।

वैशाख १९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गराएको थियो। जिल्ला न्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।