धनगढीः धनगढीको मुख्य सडकमा दिनदहाडै गोली प्रहार गरी ९ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलनको गरी लुटपाटमा संग्लन ५ जनालाई सार्वजनिक गरिएको हो ।

लुटेको रकम मध्ये ५ लाख ४८ हजार ६ सय नगद र ६ राउण्ड गोली, यु.एस.ए लेखिएको अटो पेस्तोल र अपाची मोटरसाईकल पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ जालीका राजकुमार चौधरी, गोली प्रहार गर्ने कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षीय उग्रसेन राना, पैसाको झोला लुट्ने कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु राना र अन्य सहयोगीमा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश, राजकुमार चौधरीलाई सार्वजनिक गरिएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै एसएसपी हरीराज वाग्लेले अब अपराधीलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै अपराधमा संलग्नलाई कडाभन्दा कडा कार्वाही गर्ने ठोकुवा गरे । कैलालीका विभिन्न क्षेत्रमा जडान गरिएका सिसि टिभी क्यामराको सहयोगमा लुटेराहरुलाई पक्राउँ गर्न सफल भएको उनले  बताए ।