संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । रुपन्देहीको भैरहवामा निर्माणाधीन अवस्थामा रहेको विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री अधिकारीले विमानस्थल प्रतिष्पर्धी बनाउन निर्माण कार्य सकिएपछि सञ्चालन गर्ने जिम्मा निजी क्षेत्रलाई दिइने बताए ।

विमानस्थलको १५-१५ दिनका नियमित अनुगमन भइरहेको बताउँदै आगामी वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन निर्देशन दिइसकेको पनी उनले जानकारी दिए । साथै उनले काठमाडौंको विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल रहने पनि बताए ।


विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको विमानस्थल निर्माण आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले बताए । वर्षातपछि रनवेको पिचको काम शुरु हुने बताउँदै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुने र कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको समेत जानकारी गराए ।

सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ भने सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा पनि एक वर्षभित्र गौतबुद्ध विमास्थलको निर्माणसक्ने उल्लेख गरेको छ ।