भक्तपुरः पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आज भक्तपुरको मध्यपुर थिमिमा आयोजना गरेको १५ औं स्पोर्टस अवार्ड वितरण कार्यक्रममा गौरिका र मन्देले सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।

गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०र५० हजार रुपैयाँ प्राप्त गरे ।


प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०र५० प्राप्त गरे ।

यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०र१० हजार नगद प्राप्त गरे ।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए । शाहले ३५ हजार प्राप्त गरे । यस्तै शाहले आफूले पाएको पुरस्कारको रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरेका थिए ।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशन सिंह राउत सम्मानित भए । उनले २५ हजार प्राप्त गरे ।


प्रकाशित मितिः २०७७ साल फागुन ८ गते शनिबार, २०:५५