काठमाडौंः ग्रानडालाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोली ग्रानडालाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दै ग्रानडालाई दोब्बर अग्रता दिलाए । ८८ औं मिनेटमा बार्सिलोनाका एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४–३ को पुनः अग्रता दिलाए । त्यसपछि ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, ११:५१