काठमाडौंः अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

दशौं महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।


पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।


प्रकाशित मितिः सोमबार, जेठ १२, १०:१६