काठमाडौंः फ्रान्सको राजधानी पेरिसमा चक्कु बोकेका एक जनाले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्राप्त जानकारी अनुसार आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार आक्रमणकारीको नाम उल्लेख गरिएको छैन तर तिनी प्रहरी मुख्यालयकै पूर्व कर्मचारी हुन् ।

पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

प्रहरी अधिकारीहरुमाथि आक्रमण बढेको भन्दै फ्रान्सभरिका सुरक्षाकर्मी हड्तालमा गएको भोलिपल्ट यो आक्रमण भएको बीबीसीले जनाएको छ ।


। स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

आक्रमणपछि राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिष्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन् ।

फ्रान्सीसी ब्रोडकास्टर बीएफएमटीभीका अनुसार आक्रमणमा तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ ।

आक्रमणकारीले चक्कु प्रहार गर्नुको कारण पत्ता लाग्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको र थप विवरण पछि आउने प्रशासनले बताएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०८:२५