काठमाडौंः चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्मको सडक अन्तरगत दायाँबायाँका ३१-३१ मिटर खाली गराउन निर्देशन दिइएको छ ।

काठमाडौं चक्रपथ सुधार योजना अन्तर्गतको सडक विभाग वैदेशिक समन्वय महाशाखाले मंगलबार सूचना जारी गर्दै त्यससँग सम्बन्धित सबैलाई सडक दायाँबायाँ खाली गर्न निर्देशन जारी गरेको हो । सडकको दायाँबायाँ ३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिनमा हटाउनका लागि यो निर्देशन दिईएको छ ।

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक खाली गर्ने बारेको जारी सूचनामा भनिएको छ, चीन सरकारको अनुदानमा काठमाडौंको चक्रपथ अन्र्तगत कलंकी-महाराजगञ्ज सडक खण्डको निर्माण-सुधार विस्तार कार्य तत्काल हुने भएकोले यस सडकको केन्द्रविन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१-३१ मिटर सम्मको सीमा कायम रहने गरि स्थाई वा अस्थाई संरचाना, सवारी साधन, हाडवेयर पसल तथा अन्य प्रकृतिका पसल रहेको भए हटाउन आग्रह गरिन्छ ।


यो सूचनालाई अटेर गरी संरचनाहरु नहटाएमा सडक ऐन २०३१ अनुसार उक्त संरचनाहरु भत्काइने र यसरी भत्काउँदा लाग्ने खर्च सम्बन्धित संरचनाधनीबाट असुर उपर गराइने सूचनामा उल्लेख गरिएको छ ।

चीन सरकारको सहयोगमा निमार्ण सञ्चालनमा रहेको चक्रपथ अन्तरगत अहिले कोटेश्वरदेखि कलंकीसम्म बिस्तार कार्य भइरहेको छ ।