भक्तपुरः मध्यपुर थिमि नगरपालिका–५ मा चन्दा असुली गरिरहेकै अवस्थामा प्रहरीले एक जनालाई फाउ गरेको छ ।

फाउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ हेपाली बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कोटी रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले मंगलबार मध्यपुर ठिमी नगरपालिका–५ मा पुर्कोटीले नेमकिपाको नाममा लेटर प्याड तयार गरी विद्यालय, वित्तिय सहकारी संस्था, स्वास्थ्य संस्था समेतमा जवरजस्ती चन्दा असुली गरिरहेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले पुर्कोटीको साथबाट नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति लेखिएको काटिएको र नकाटिएको रसिद, प्रभु बैंकको नगद जम्मा भौचर, नेपाल मजदुर किसान पार्टीको लेटरप्याडमा अपील साथै सहयोग सम्बन्धमा लेखिएको पत्र बरामद गरेको हो ।


त्यसैगरि बिभिन्न संघ संस्था, क्लब र पार्टीको सहयोग रसिद प्याड, आर्थिक सहयोग सम्बन्धमा लेखिएका पत्र, एभरेष्ट आँखा केन्द्रको पर्चा र नेपाल मजदुर किसान पार्टीको पर्चामा कृष्णध्वज केसी संयोजक लेखिएको पत्र बरामद गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

पुर्कोटीलाई बुधबार भक्तपुर जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई चन्दा ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः बिहीबार, चैत ६, ०६:१७