काठमाडौंः नेपाल चलचित्र कलाकार संघले दशैंकोअवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए ।

कार्यक्रममा नेपाल संगित तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, संघका सल्लाहकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले संघले दशैंको अवसरमा कलाकारहरुलाई एक ठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुआत हुनु राम्रो काम भन्दै संघको प्रशंसा गरेका थिए ।


संघका उपाध्यक्ष मोहन निरौलाले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा टीका सहित संघ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ दक्षिणा दिएको थियो भने संघका कोषाध्यक्ष सुनिल कटुवालले ३१ रुपैयाँलाइ ३१ सय बनाई चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरेका थिए । कलाकारहरुले दक्षिणास्वरुप आफूले पाएको ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । अक्षय कोषका लागि ३५ हजार भन्दा बढी रकम संकलन भएको संघले जनाएको छ ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ०८:०८