काठमाडौं: नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

टेलिकमका अनुसार सिन्धुपाल्चोकका १८७, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका १५९ र रसुवाका ४० स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले उक्त जिल्लाका कुला ४४ सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याउने तयारी छ । उक्त योजना अनुसार ६ सय ७५ मा सेवा सुरु गरिसकेको छ । ‘उक्त चार जिल्लामा ९० प्रतिशतभन्दा धेरै काम सकिएको छ,’ टेलिकमले भनेको छ, ‘आगामी असार मसान्तसम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ ।


।’

टेलिकमका अनुसार हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । नागरिक दैनिकमा समाचर छ ।