काठमाडौंः राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पूरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो ।

प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्न लायक प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

उनका अनुसार निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माण प्राधिकरणबाट भइरहेको छ ।


उनले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी दिए । उनले १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको समेत जानकारी दिए । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ ।

ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिए।

त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएको र १ सय २३ सम्पादाको काम भइरहेको छ । १ हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेको उनले बताए । त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको उनले बताए ।


प्रकाशित मितिः बिहीबार, पुस १०, १५:५४