कैलालीः गोदावरी नगरपालिका–२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डी बरामद गरी ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका–५ बस्ने ३५ वर्षीय बीर बहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

होटलको कोठाबाट उक्त छाला र हड्डी सहित किरन पुनलाई फेला पारी क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा बीर बहादुर र योगेन्द्रलाई समेत पक्राउ गरेको हो ।

बरामद छाला र हड्डी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १९:३२