काठमाडौंः यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्ने समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरुप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ ।

नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै आर्थिक सहयोगको शृङ्खला सुरु भएको थियो ।


खास गरी सन् १९५६ अक्टोबरमा सम्पन्न आर्थिक सहायतामा नेपाल चीन सहमतिपछि यसले तीव्रता पाएको देखिन्छ । चीन सरकारले नेपाललाई द्विपक्षीय हितका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराउँदैआएको छ । पूर्ण अनुदान, निर्ब्याजी ऋण र सहुलियतपूर्ण कर्जाका आधारमा सरकारी सहयोग उपलब्ध हुँदैआएको देखिन्छ । नेपालको पूर्वाधार क्षेत्र औद्योगिक विस्तार, मानव संशाधन विकास, औद्योगीकरणको प्रक्रिया, शिक्षा स्वास्थ्य जलस्रोतलगायतका क्षेत्रमा चिनियाँ सहयोग उल्लेख्य रहँदैआएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०६:०६