काठमाडौं: तत्कालीन सोभियत संघको सहयोगमा सरकारले वीरगञ्जमा चिनी कारखाना खोलेपछि देशमै चिनी उत्पादनको विधिवत् सुरुवात भएको हे । त्यस प्रश्चात विभिन्न निजी तथा सरकारी स्तरबाट चिनी उद्योग खोलिए पनि यसले देशमा बढ्दै गरेको चिनीको माग भने अझै धान्न सकेको छैन ।

महिनाअघि मन्त्रिपरिषद्ले २०७४/७५ को उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा र चिनी प्रतिकिलो ६३ देखि ६६ रुपैयाँमा  निर्धारण गरेको थियो । उद्योगले भने आफू मनपरी चिनीको मूल्य निर्धारण गर्ने गरेका छन् भने किसानलाई समेत उखुको मूल्य न्युनतम भुक्तानी गर्दै आएका छन् । कतिपय उद्योगले किसानलाई गतवर्षको भुक्तानी समेत गरेका छैनन् जसले गर्दा किसानहरु उखु खेतीको विकल्प खोज्न बाध्य भएका छन्।


अहिले तराईका जिल्लामा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । उखुको उत्पादन लागत वर्षेनी बढ्ने तर मूल्य भने निरन्तर घट्दा किसान उखु खेतीको विकल्प खोज्न बाध्य भएका छन् ।  हरेक वर्ष उखुको मुल्य घट्दै जानु र तोकिएको मूल्य पनि समयमै नपाउनु उखु खेती घट्नुको प्रमुख कारण रहेको अध्ययनले देखाएको छ ।

गत वर्षकै उखु आपूर्तिको भुक्तानी बाँकी रहेका कृषकले यो वर्ष राम्रो मूल्यको सुनिश्चततिबिनै उखु धमाधम चिनी मिलहरूलाई दिन थालेको भए पनि चिनी मिलहरूले समयमै क्रसिंग गर्न नसक्दा दुवै पक्षले घाटा व्योहोर्नु परेको छ । सुनसरी र मोरङ जिल्लामा साढे सात हजारभन्दा बढी उखु किसान छन् । उखु बेचेपछि भुक्तानी पाउन किसानहरूले आन्दोलन नै गर्नुपर्ने बाध्यता छ ।

उखुको न्यून मुल्य दिँदै र समयमा भुक्तानी समेत नगरी किसानलाई शोषण गर्दै आएका चिनी उद्योगले मनपरी ढंगले चिनीको मूल्य निर्धारण गरेर बिक्री गर्दै आएका छन् । उत्पादन लागतलाई बेवास्ता गरी उद्योगले आफूखुसी मूल्य तोकेर बिक्री गर्दै आएको सरकारी छानबिनले देखाएको छ । उखुमा सरकारले तोकेको भन्दा कम मूल्य दिएर चिनी उद्योगले किसानलाई झुक्याएको फेला परेको छ ।

मन्त्रिपरिषद्ले २०७४/७५ को उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । उद्योगहरूले खेतमै गएर उखु खरिद गर्दा किसानलाई प्रतिक्विन्टल ४ सय ५० र मिलमा बिक्री गर्दा प्रतिक्विन्टल ५ सय रुपैयाँसम्म मात्रै दिने गरेको भेटिएको छ । उखु उद्योग परिसरमा एक साताभन्दा बढी उखु राख्नु पनृ हुँदा सुक्ने समस्या हुन्छ । केही उद्योगले एक–दुई साता राखेर मात्रै जोख्ने गरेको किसानहरूको गुनासो छ । जसले गर्दा किसानहरु सस्तो भए पनि खेतबारीबाटै उखु बिक्री गर्न बाध्य छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको प्रतिवेदन अनुसार इन्दिरा सुगर एन्ड इन्डिस्ट्रज प्रालिले उखुको मूल्य प्रतिक्विन्टल ५ सय रुपैयाँ तोकेको छ । मूल्य त्यति तोकेको उद्योगले कृषकलाइ ३५ प्रतिशत मात्रै भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । वाग्मती खाडसारी सुगर मिलले पनि प्रतिक्विन्टल ५ सय रुपैयाँ तोकेको छ । उक्त उद्योगले ७५ प्रतिशत मूल्य भुक्तानी गरेको छ । श्रीराम सुगर मिलले पनि प्रतिक्विन्टल ५ सय ६ रुपैयाँ २० पैसा तोकेको छ । अधिकांश उद्योगले भुक्तानी गर्न बाँकी नै छ ।

उद्योगले समयमा भुक्तानी नदिएको गुनासो आएपछि उद्योग वाणिज्य आपूर्तिमन्त्री मातृका यादवले उद्योगलाई बोलाएर गत चैतको दोस्रो साता तत्काल भुक्तानी दिन निर्देशन दिएका थिए । मन्त्रीसँग तुरुन्त भुक्तानी दिने प्रतिबद्धता जनाएका उद्योगीले आलटाल गर्दै आएका छन् ।गत वर्षको तुलनामा यो वर्ष चिनी उत्पादन बढेको छ । चालु आर्थिक वर्ष एक लाख ७४ हजार टन चिनी उत्पादन भएको उद्योगीले जनाएका छन् । गत वर्ष एक लाख ५३ हजार टन उत्पादन भएको थियो ।

सरकारी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७१/७२ मा २ करोड ७२ लाख ६६ हजार ५ सय ६७ किलो चिनी आयात भएको थियो । २०७२/७३ मा ४ करोड ७६ लाख २३ हजार ९ सय ४ किलो, २०७३/७४ मा ६ करोड २३ लाख ७१ हजार ५ सय ९० किलो भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामै ८ करोड ८५ लाख ८९ हजार ८ सय ४१ किलो चिनी आयात भइसकेको छ । प्रतिवेदनले चिनी पैठारी नियन्त्रण गर्न भन्सार जाँचपासका क्रममा कायम हुने मूल्यमा वृद्धि गर्नुपर्ने उल्लेख गरेको छ ।

चिनी उद्योगको कारण उपभोक्ता ठगिएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको स्थलगत अध्ययनमा उपभोक्तालाई भार पर्ने गरी मनपरी ढंगले बिक्री गरेको भेटिएको हो। चिनी उद्योगमा गरेको अनुगमनमा कम्पनी मूल्य निर्धारण नगरी प्रत्येक उद्योगले फरक–फरक बिक्री मूल्य तय गरेको फेला परेको छ ।