काठमाडौंः चिनीमाया गुरुङ र सुस्मिता गुरुङले यस वर्षको मिसेस एण्ड मिस गुरुङको ताज पहिरहन सफल भएका छन् ।

एस.के. इन्टरटेनमेन्ट प्रा.लि.ले बिगत २ वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगितामा मिसेस गुरुङतर्फ चिनीमाया र मिस गुरुङतर्फ सुस्मिताले उपाधि जितेका हुन् ।

मिसेस गुरुङतर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देवी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ, भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् ।

यसैगरी, मिस गुरुङतर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् ।


विजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगिताको निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, केशब थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए ।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति/रिवाज एवम् रहन/सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि/बहिनी मार्फत अन्य जन-जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रर्वधन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् ।


प्रकाशित मितिः बिहीबार, फागुन १, १२:२०