काठमाडौंः उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।

गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरुले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए । गैरकानुनी रुपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थालेको छ ।


। अघिल्लो सातासम्म भारतबाट दैनिक ४५/५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपैयाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपैयाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने संकेत देखिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २८, ०७:३३