काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. राजन भट्टराईले रेल चीनियाँ अनुदानमै नेपालमा रेल गुड्ने बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनको अनुदानमै बन्ने र यस सम्बन्धी कुराकानी पनि भइसकेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘केरुङ-काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक पटक भनिसक्नुभएको छ । हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ।’

नेता भट्टराईले वर्तमान प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताहरूलाई कार्यान्वयनमा लैजान यसपटकको भ्रमणले प्रमुख प्राथमिकता पाउने बताए ।


उनले भने,‘यसअघि चीनसँग भएका सम्झौताहरू कार्यान्वयन हामीले सोचेजस्तो भएन, जुन गतिमा सम्झौता कार्यान्वयन हुनुपर्ने थियो त्यो हुन सकेन, यसमा हाम्रै आन्तरिक कारणहरू छन्, अब हामीसँग राम्रो वातावरण बनेको छ, कम्तिमा पनि ५ वर्षको लागि स्थिर सरकार छ, अब विगतमा भएका सबैखाले सहमति तथा सम्झौताहरू कार्यान्वयनमा लैजानुपर्छ।’

नेपाल भारत प्रवुद्ध समूहका नेपालतर्फका सदस्य समेत रहेका नेता भट्टराईले समूहको आगामी बैठकपछि समूहले प्रतिवेदन बुझाउने जानकारी दिए। ‘हाम्रो तर्फबाट हामीले सबै प्रतिवेदन टुंगो लगाएका छौँ। अबको बैठक समूहको अन्तिम बैठक हुने,’ उनले भने।

समूहको आगामी बैठक जुन २९ र ३० मा काठमाडौंमा बस्नेसमेत उनले जानकारी दिए।