काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले भने ,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, त्यो भयो भने मात्र प्रधानमन्त्रीको भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणको प्रसंङ्ग उठाउदै भण्डारीले भने, विपीले चीन जाँदा माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको तर यो कुरा भारतीय पक्षलाई मन नपरेपछि राजासँग मिलेर विपीको सरकार नै ढालिएको थियो ।


अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनियाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाव दिँदै भने, ‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याइदियो भने पनि प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण मानिनेछ।

नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाउँदै हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय रहेको बताए ।

उनले भने, गलत मोडलमा हामीले विकास निर्माणका कामहरु अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।

नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए । उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरु मान्छे मार्ने धराप बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि ५ वटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए ।