कुण्ठाहरु भरिए भने दिल र दिमाग भारी हुन्छ । सँधै भारी रहने दिमागले टाउको दुखाउँछ, मानसिकरुपमा असन्तुलित बनाउँछ । त्यसैले बोल्न खोज्ने मान्छेको कुरा सुनिदिनु पर्छ । हाँस्ने मान्छेलाई हाँसेर र रुने मान्छेलाई रोएर साथ दिनुपर्छ ।

हाँसो र आँशु सबैको जीवनमा अभिन्न रुपमा रहेका हुन्छन् । हरेक व्यक्तिभित्र हाँसो, आँशु, पीर, व्यथा हुन्छ । अरुलाई चोट दिएर रुवाउनेहरुसमेत कुनै न कुनै चोटमा परेका हुन्छन् । सबैले दुःख र पीरमै आँशु बगाउने हो, कहिलेकाँही हाँस्दाहाँस्दै पनि आँशु बग्छ । तर भक्कानिँदा बग्ने आँशु र खित्का छोड्दा बग्ने आँशुबीच अन्तर पक्कै छ ।

दुनियाँमा यस्ता थुप्रै मान्छे छन्, जो सफलतामा रुन्छन् बरु असफलताको सहजै सामना गर्छन् ।


। अरुले दिएको चोट सहन नसकेर रुने भन्दा रिसाउने धेरै हुन्छन्, अरुको सफलता देखेर मुस्कुराउने थोरै, डाह गर्ने धेरै हुन्छन् तर कोही कोही अरुको सफलतामा पनि रुन्छन्, हर्षाश्रु बगाउँछन् ।

यतिबेला एउटा सन्दर्भ छ, पुत्र वियोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीताको रोदन ।

प्रकाश दाहालको असामयिक निधनसँगै धेरैले सामाजिक सञ्जालमा लेखे, ‘एउटा बुढो भइसकेको बावुले तन्नेरी छोराको लास बोक्नु संसारको सबैभन्दा ठूलो दुःख हो ।’ हो पनि, बावु आमाका लागि आफ्नो सन्तान सँधै प्रिय हुन्छ, बच्चै होस् वा बुढेसकाल लागेकै किन नहोस् । तन्नेरी सन्तान, जवानीको सारथी र बुढेसकालको वैशाखी गुमाउँदाको क्षण कति दर्दनाक होला ?

प्रकाशको असामयिक निधनले धेरैका आँखा रसाए, कति भक्कानीए, कतिले डाको छोडे, कतिले घुँक्कघुँक्क गरे । परिवारका सदस्य त विक्षिप्त भए, आमा सीता तथा पत्नी बिना र सृजना अनि दिदीहरुले पछ्यौराको फेरभित्र कति आँशु लुकाए होलान्, कति आँशु बगाए होलान्, यस्तो पीडा भोग्नेहरुले महशुस गरिसके ।

निर्वाचनको मुखमा प्रचण्ड परिवारमा परेको बज्रपातको तुलना केहीसँग पनि हुन सक्दैन । विगत माओवादी जनयुद्धमा १७ हजार नेपाली छोराछोरीले ज्यान गुमाएका थिए । तर विगतमा १७ हजारले ज्यान गुमाएको सम्झँदैमा अहिलेको पीडा घट्दैन । ज्यानको बदला ज्यानै लिँदा पनि रिस मात्रै मर्ने हो, पीर मर्दैन । प्रचण्ड पुत्रवियोगबाट भावाकुल हुँदा बल्ल खाइस भन्दैमा न भन्नेको पीर घट्छ, न सुन्नेको ।

शोकाकुल भएको परिवार बोकेर प्रचण्ड मंगलबार चितवन पुगे । हर्षोल्लास र महा उत्सवका रुपमा सम्पन्न गर्नेगरी पूर्वनिर्धारित चितवनको चुनावीसभा प्रकारान्तरले शोकसभामा परिणत भयो । चुनावी भाषण ठोकेर तररर ताली खाने गरी निर्धारण गरिएको कार्यक्रम धरधरी रुनु पर्ने बन्यो । ताली बजाउनु पर्ने हातहरु आँशु पुछ्न बाध्य बने, उर्जाशील भाषण गर्नुपर्ने व्यक्ति सहानुभूतिका शब्दहरु सुनेर फर्किनु पर्यो । नियतिका अगाडि नियत जहिले पनि निरिह बन्दाे रैछ ।

शोक र भोकले मान्छेलाई छोड्दैन । तर फरक के छ भने भोक दिनदिनै लाग्छ, दिनदिनै सकिन्छ, शोक एक दिन लाग्छ, कहिल्यै सकिन्न, शोक सकिन समय घर्किनुपर्छ । समयले मात्रै शोकलाई मेट्न सक्छ ।

प्रचण्डले शोकलाई शक्तिमा बदल्ने प्रयास गरेका हुन् । उनको परिवारले पनि त्यो प्रयास जारी राखेको छ । तर यो धेरै छिटो भयो कि भन्ने टिप्पणीहरु आउन थालेका छन् ।

प्रचण्डलाई पुत्र वियोगलगत्तै आएको मुख्य चुनौति चुनाव हो । चुनावमा प्रचण्ड आफै पनि उम्मेदवार छन् र उनकी बुहारी अर्थात् पति वियोग खेपीरहेकी बिना मगर पनि उम्मेदवार छिन् ।

चुनावका मुखमा घरको मियो नै ढलेपछि प्रचण्ड परिवारमा कसरी पार लागिएला भन्ने पीर छ, प्रचण्ड परिवार शोकमा डुबेपछि राजनीतिक एजेण्डा छायाँमा परेर मतदाताले आफ्नो मत समवदेनाको पुष्पगुच्छा सम्झेर उनीहरुलाई नै अर्पण गर्ने पो हुन् कि भन्ने डर विपक्षी दलहरुलाई छ ।

डर हुनु स्वभाविक पनि हो । मान्छे बहकिन थालेपछि हाँस्दाहाँस्दै रुन्छ र रुँदारुँदै हाँस्छ । त्यसमाथि शोकमा डुबेको सबै परिवारलाई चुनावी सभामा सहभागी गराउँदा चुनावी सभा नै शोकाकुल बन्दै जान्छन् ।

चुनावीसभा त ‘मोटिभेटेड’ हुनुपर्छ, भाषण सुन्न आएकाहरु जुरुकजुरुक हुने गरी नेता बोल्नुपर्छ, विपक्षी विचारको आलोचना र आफ्ना विचारको समालोचना गर्नुपर्छ । तब मतदाताहरु विचारको प्रभावमा पर्छन्, स्वीकार गर्नेले गर्छन्, स्वीकार नगर्नेहरुले तर्कसहित अस्वीकार गर्छन् । भाषण सुनेर फर्किनेहरु उत्साह र जोश बोकेर फर्किन्छन् ।
जब यस्ता सभाहरु नै शोकमा डुब्छन् तब मान्छे भोट दिन तयार त होलान् तर सभाबाट घर फर्किँदा ‘आखिर के रैछ र मान्छेको चोला, विचरा !’ सोच्न थाल्छन् ।

यत्ति होइन । सीता पुत्रवियोगमा शोकाकुल छन् । बह पोखौँ, को सँग पोखौँ, आँशु रोकौँ, कसरी रोकौँ । आफ्नै काखको सन्तान विछोडिँदा डाको छोडेर रुन नपाउनु ? त्यत्रो सभामा कसरी रुनु, नरुन खोज्दा पटक पटक उसैको याद दिलाइन्छ, अनि कसरी नरुनु ?

राजनीतिले देशकै शोकलाई शक्तिमा बदल्नु पर्छ । यस्तो समयमा आफ्नो शोकले देश नै शोकमय नबनोस् भन्नका लागि प्रचण्ड आफू कठोर बन्नुपर्छ । कमजोरीले नै शोक र रोग बढाउँछ ।

प्रचण्ड चुनावीसभामा उत्साह बोकेर जानुपर्छ । विछोडको घाउ लागेकी सीतालाई बह पोख्ने र आँशु पुछ्ने, पर्दा सँगै रोइदिने साथीको व्यवस्था गरिदिनुपर्छ । चुनावीसभाहरु सीताका लागि सुनका पिँजडा बन्न सक्छन् ।