नेपाल अति विपन्न राष्ट्र हो । यो भूपरिवेष्ठित अल्प विकसित मुलुकमा पर्छ । यी कारणले गर्दा नेपालले अनेकौं समस्या भोग्दै आएको छ। ती समस्याहरूमध्ये चेलीबेटी बेचबिखन विकराल बन्दै गएको छ । नेपाल आमाका निर्दोष निश्छल, हंसमुखी, सहनशील, सरल शान्त र उदार स्वभावका चेलीबेटी चेतनाको कमीका कारण भारत, चीन तथा खाडी मुलुकमा बेचिन विवश छन् ।

नेपालका चेलीबेटी वर्षेनी ठूलो मात्रमा बेचिइरहनुको कारण गरिबी, अशिक्षा र बेराजगारी देखिएको छ । नेपालका चेलीबेटी बेचबिखन रोक्ने प्रयासमा सरकार, नागरिक र गैरसरकारी क्षेत्रका तर्फबाट प्रयास भइरहेका छन् तर ती सबै फलदायी बन्न सकेका छैनन् । यही अभियानमा माइती नेपाल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखन समस्या रोकथाम गर्न तथा त्यस्ता चेलीबेटीको उद्धार, संरक्षण र संबर्द्धन गर्न लागिरहेका छन् ।


। यति हुँदाहुँदै दक्षिणीतर्फको खुला सीमाका कारण लुकीछिपी तथा लुकाइछिपाइ दलालहरूले सोझा सादा चेलीबेटी बेच्ने क्रमलाई तीव्रता दिइरहेका छन् । चेतनाको कमीका कारण नेपाली छोरीचेली प्रलोभनमा परी भारतका विभिन्न कोठीमा यौनजन्य क्रियाकलापमा संलग्न हुन विवश छन्।

माइती नेपाल, प्रहरी, सशस्त्र प्रहरी बल सेना सीमा सुरक्षा बल र अन्य संघ संस्थाहरू चेलीबेटी बेचबिखनका कुत्सित कार्य रोक्न तत्परताका साथ संलग्न हुँदाहुँदै पनि यो समस्या समाधान हुन सकेको छैन । यो समस्याले झन्झन् विकराल रूप लिएको छ। नचिनेका दलाल त संलग्न छन् नै त्यसभन्दा खतरनाक अवस्था यस्तो चेलीबेटी बेचबिखनमा कतिपय चेलीबेटीकै बुबाआमा, दिदीबहिनी, मामामाइजू, फूपूफुपाजु, गाउँघर छरछिमेकका इष्टमित्र कुलकुटुम्ब नै संलग्न देखिएको छ । आफन्त नै संलग्न भएपछि प्रहरी, सशस्त्र प्रहरी बल, सेना, सीमा सुरक्षा बल विभिन्न संघसंस्था र सङ्गठनको अभियान कामलाग्दो बन्न सकेको छैन ।

दक्षिणी भूभाग सहज तथा सुगम भएकाले चेलीबेटी बेचबिखनमा यी समूहको दृष्टि त्यतै पुगेको छ । बेचबिखनमा संलग्न यस्ता समूह भारत मात्रै होइन उत्तरको चीनतिर पनि बेच्ने धन्धा चलाउनेहरू पनि सक्रिय देखिएका छन् । चीनतिरको चेलीबेटीको बिक्री अझ विकराल समस्याका रुपमा अगाडि आएको छ । नेपालको उत्तरी सीमावर्ती क्षेत्र अत्यन्त विकट छ । नेपालको उत्तरी सीमावर्ती क्षेत्रका चेलीबेटी र तिब्बती क्षेत्रका चेलीबेटीको अनुहार मिल्ने हुँदा दुवैतिरका मानिसलाई दुवैतिर आवतजावत गर्न छुट दिइएको छ । यही सुविधाको गलत फाइदा उठाउँदै उत्तरी सीमावर्ती क्षेत्रमा चेलीबेटी बच्नेहरु अत्यन्तै सक्रिय देखिएका छन् ।

यो क्षेत्र नयाँ हुनुका साथै विकट क्षेत्र भएकाले माइती नेपाल तथा सेना, सशस्त्र र नेपाल प्रहरीको सक्रिय उपस्थिति रहन सकेको छन्। अन्य संघसंस्था र सङ्गठनको नजर पनि पुग्न सकेको छैन । पत्रकारको दृष्टि पनि पुग्न सकेको छैन । हाम्रो छिमेकी मुलुक चिनको जनसंख्यामा महिलाको संख्या न्यून छ । यस्तो अवस्थामा नेपाली चेली त्यहाँ लैजान सजिलो भएको हो । त्यता नेपाली चेली अपहरणमा परेर पनि जान बाध्य छन् । अपहरणमा परेर गएका हाम्रा कतिपय चेलीबेटी त्यहाँका नागरिकसँग विवाह गरेर पत्नीको रूपमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा पारिवारिक जीवन सुखसँग विताउने गरेका पनि छन् तर बेचिएका चेलीबेटी भने तिब्बतको सहरी इलाकामा रहेका कोठीहरुमा नारकीय यौनजन्य क्रियाकलापमा संलग्न भई दुःखद जीवन ज्यूँन बाध्य छन्।

अहिले त सङ्घीय, प्रादेशिक र गाउँरनगर स्तरीय सरकार छन् । यी सरकारको ध्यान चेलीबेटी बेचबिखनको समस्या समाधान गर्नतिर जानुपर्छ । गाउँगाउँसम्म शैक्षिक गतिविधि र चेतना जागरण गाराउनुपर्छ। दक्षिणी क्षेत्र होस् वा उत्तरी क्षेत्रमा जन चेतना जगाउने काम तदारुकताका साथ सञ्चालन गर्नुपर्छ। चेलीबेटी बेचबिखनमा संलग्न अपराधीलाई आजीवन मात्र होइन आमरण जेल सजाय हुने ऐन कानुनको निर्माण गर्नु आवश्यक छ । अज्ञानतावश होस् कि धनको प्रलोभनमा परेर होस्, गरिबीको कारण होस् कि कसैको उक्साहटमा लागेर जसले जे जस्तो परिस्थितिमा परेर होस् चेलीबेटी बेचबिखनजस्तो अपराध गर्नेलाई राजनीति नहेरी कानुनी कारबाही हुनुपर्छ। चेलीबेटी बेचबिखनजस्तो कुत्सित क्रियाकलापमा संलग्न हुनेलाई कानुनी कारबाही गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा माइती नेपाल र अन्य संघ संस्थाहरू सहकार्य गरेर अघि बढ्नु आवश्यक देखिएको छ । अवश्य नै सबैको सत्प्रयास भएमा यो समस्याको समाधान हुनेछ ।

  • कृष्ण नेपाल