काठमाडौंः नेपाली कांग्रेसले आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । बैतडीकी १७ वर्षिया किशोरी भागीरथी भट्टको बलात्कार गर्ने र हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले धर्ना कार्यक्रम राखेको हो ।

समितिका सभापति बाबुराम आचार्यले कसैकी छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताए । उनले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अनुसन्धान गरी कारबाही नगरिएकोमा दुःख लागेको भन्दै भागीरथीको बलात्कार र हत्या गर्ने अपराधी पनि कानूनी कठघरामा बस्नबाट नउम्कुन भन्ने आफूहरुको भावना रहेको बताए ।


सयौंको संख्यामा उपस्थित रहेका कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुले भागीरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिँसा बन्द गर, शान्ति सुरक्षा कायम गर जस्त प्ले कार्ड र ब्यानरहरु बोकेर बाटो छेउमा बसेका थिए । सभापति आचार्यले बलात्कार र हत्याजस्ता जघन्य अपराध गर्ने जो सुकै भएपनि कडा कारबाही गर्नुपर्ने माग आफूहरुको भएको भन्दै चेलीहरु सुरक्षीत रुपमा डरत्रासबिहीन ढंगले हिँडडुल गर्ने वातावरण सरकारले बनाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

सहभागीहरुले बलात्कारजस्तो जघन्य अपराध दिनानुदिन बढ्दै गएकोले राज्यले रोकथामका लागि बिशेष योजना बनाउनुपर्ने बिचार व्यक्त गरेका थिए । प्रदर्शनमा सहभागीहरुले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोस पोखेका थिए । उनीहरुले निर्मलाका बलात्कारी र हत्यारा उम्किएकोजस्तै गरी भागीरथीका हत्यारा पनि उम्कनसक्ने हुँदा तीन करोड नेपाली जनताले नै सरकारलाई अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न दबाब दिनुपर्ने बताएका थिए ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १९:०८