ललितपुरः चैतन्य जागृति महिला समूहले ललितपुर हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ । आर्थिक अवस्था कमजोर रहेका श्रमिक र मजदुर परिवारलाई महिला समूहले राहत वितरण गरेको हो ।

महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेशमा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरका एक सदस्यभन्दा धेरै परिवार सदस्यलाई राहत वितरण गरिएको हो ।

उनले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन् ।

‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरुसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ उनले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौँ ।


।’

सरकारको तर्फबाट कम्तिमा लकडाउनको अवधिभर पुग्ने राहत सामग्री वितरण गर्नु पहल हुनुपर्नेमा सामाजिक अभियन्ता बानुको जोड छ ।

‘सरकारले, राज्यले चाहेमा गर्न नसक्ने कार्य केही हुँदैन, सरकारले अगुवाइ गर्ने तथा सामाजिक र आर्थिकले सरकारलाई सहयोग गर्ने हो भने कुनै पनि नेपालीले भोको हुनुपर्दैन,’ बानुले भनिन् ।

४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन् ।

ललितपुरको हरिसिद्धि श्रमिक र मजदुरहरू धेरै भएको इलाका हो । ललितपुर महानगरपालिका–२८ ले राहत स्वरूप पाँच किलोग्राम चामल तथा अन्य केही सामग्री वितरण गरेको थियो । तर, श्रमिकहरूले सरकारी राहत अपर्याप्त रहेको गुनासो आएको र यसलाई सम्बोधन गर्न मानवअधिकारकर्मी तुलसीदास थापाले माग गरेका छन् ।


प्रकाशित मितिः शनिबार, वैशाख ६, १२:२६