काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले
चढिरहेको मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

धादिङ्गको निलकण्ठ नगरपालिका–९ मुरली भन्ज्याङ्ग बस्ने २६ वर्षीय मगर र थाक्रे गाउँपालिका–१ देवीस्थान बस्ने २१ वर्षीय तामाङ्ले चढेको बा ९२ प ७६३० नम्बर मोटरसाइकल समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ९८३५ खुल्न आएको छ ।


उक्त नम्बरको मोटरसाइकल २०७६ पुस २६ गते काठमाडौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा पर्साको ठोरी गाउँपालिका–९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाइकल र उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी
दिए ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, २१:३३