काठमाडौंः मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको शंखरापुर नगरपालिका–६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५ प ७९७६ नम्बरको रातो रङ्गको एनएस पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामा साँगाचोकगढी–६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएका मोटरसाइकल यहि पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको भनी ललितपुर बस्ने सुजित महर्जनले निवेदन महाशाखामा दिएका थिए ।


पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, ०७:४५