काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बिहान काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङ्गको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय बिजय तामाङ्ग र १८ वर्षीय आइतराज तामाङ्गलाई प्रदेश ३–०२–०११ प ७२४१ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
किर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौंं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन
दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३–०२–०१४ प ०३३९ रहेको बताएको छ ।
हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, २१:३१