भारतको महाराष्ट्र र गोवा राज्यका राज्यपाल बरिष्ठ राजनीतिज्ञ भगतसिंह कोश्यारीले सदियौंदेखि असल छिमेकीका रुपमा रहेका नेपाल र भारतबीचको प्रगाढ सम्बन्धलाई अझै सुदृढ बनाएर लैजानु आवश्यक भएको बताएका छन् ।

विश्व हिन्दु महासंघका केन्द्रीय सदस्यसमेत रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको नेतृत्वमा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पुष्कर उप्रेती, हाल अमेरिकाको न्यूयोर्क निवासी सामाजिक अभियन्ता सुर्य सिम्खडा र हिन्दु अभियन्ता माधव न्यौपाने सम्मलित प्रतिनिधी मण्डलसँग बिहीबार भारतको मुम्बईस्थित राजभवन महाराष्ट्रमा भेटघाट गर्दै नेपाल भारत सम्बन्धका विज्ञ मानिने राज्यपाल कोश्यारीले छिमेकी राष्ट्रका साझा समस्या र सवालहरुको सम्बोधन गर्दै द्वीपक्षीय हितका लागि सहकार्य गर्न भारत सरकार सदैव तयार रहेको बताए ।


नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खडकाले नेपाललाई हिन्दु राष्ट्र बनाउने मुद्दा उठाएर शुरु गरेको अभियानमा अग्रमोर्चा देखिएका सांसद मल्लले २०७५ सालमा काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकबाट आफ्नै नेतृत्वमा पार्टीभित्र हिन्दु राष्ट्रको सवालमा वहस चलाइराखेका छन् ।

सांसद मल्ल नेपाली कांग्रेसमा आफ्नो पुस्ताका युवा नेताहरु मध्ये भारतको बर्तमान संस्थापनका उच्चस्तरीय नेताहरुसँग बलियो सम्बन्ध भएका युवा नेताका रुपमा चिनिन्छन् ।

भारतका कट्टरपन्थी हिन्दुवादी नेताहरुको रोजाईमा सांसद मल्ल पर्छन । युवा राजनीतिकर्मीहरुले नेपालको आर्थिक विकास र समृद्धीका लागि योजनावद्ध किसिमले काम गर्नुपर्ने र आफ्नो सांस्कृतिक तथा ऐतिहासिक विरासत कायम राख्न भूमिका निर्वाह गर्नुपर्ने राज्यपाल कोश्यारीले सुझाव दिएको जानकारी प्राप्त भएको छ ।

भारतीय जनता पार्टीका उच्चस्तरीय नेताहरुसँग प्रगाढ सम्बन्ध बनाउन सफल सांसद मल्लसहितको प्रतिनिधी मण्डल राज्यपाल कोश्यारीको अनौपचारिक आमन्त्रणमा बुधबारदेखि भारत भ्रमण गरिरहेको छ ।