काठमाडौंः लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन ब्यवसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डबाट आगामी २ वर्षे कार्यकालका लागि पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले बोर्डले सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियूक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।


नेपालको पर्यटन प्रर्वद्धन, नेपाली कला, संस्कृतिको सम्बर्द्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने सद्भावनादूत नियूक्तभएपछि शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् । नेपालको पर्यटन प्रर्वद्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

शेर्पा सद्भावनादूत नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने जनाएको छ ।

उनलाई अमेरिका प्रस्थान गर्नु अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, ११:१२