काठमाडौंः छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट ४४ किलो अवैध लागूऔषध गाँजासहित ८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दिपक लामा, ५२ वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ्‍ग, ३१ वर्षीय रतन सिङ्‍गतान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका–४ बस्ने ३४ वर्षीय सिताराम सिङ्‍गतान रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


यस्तै, झापाको मेचीनगर नगरपालिका–१४ धाईजनबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१४ बस्ने ३० वर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ बस्ने ३३ वर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ बस्ने २७ वर्षीय निराजन पौडेल रहेका छन् ।

मे ६ प ९९२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा आएका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने सोही नगरपालिका–३ ठाटी घर भएका ३१ वर्षीय ऋषि चौधरीलाई करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनी बस्ने घरमा लागूऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध सहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, २१:४२