काठमाडौंः प्रहरीले छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९५ एम्पुल, नुफिन ५ सय एम्पुल र फेनारगन २ सय ९५ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावा–६ बस्ने १९ वर्षीय पप्पु कुमार यादब र सोही ठाउँ बेलाजितपुर–१५ बस्ने २६ वर्षीय सुवास कुमार यादब रहेका छन् ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा आएका उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरु माथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यस्तै, मोरङको बुढिगंगा गाउँपालिका–४ पोठियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ बस्ने २१ वर्षीय मो. साबिर मिया र धनुषाको जनकपुर देब्राउरैठा बस्ने १९ वर्षीय पिगनेश झा रहेका छन् ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध नुफ्रिन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र फेनारगन ९७ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२७ बस्ने ३१ वर्षीय बिनोद चौधरी र सोही महानगरपालिका–१७ बस्ने ३३ वर्षीय बिजय लामा रहेका छन् ।

ग १ ख ९६१६ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ४ गते बुधबार, ०७:१७