काठमाडौंः प्रहरीले छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर र रौतहटबाट एक एक जना पक्राउ परेका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ कुत्तासिंहस्थित गिर्खे खोलाको बगरबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–२ माझटोल बस्ने १७ वर्षीय किशोरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना व्यक्तिहरु झोला छोडेर भाग्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिई झोला जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । अर्का फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।


यस्तै, रौतहटको गौर नगरपालिका–४ टिकुलीया मठ नजिकबाट करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने झिङ्गुर भन्ने ४४ वर्षीय हरि किशोर सहनीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले हरि किशोरको घर नजिकैको ट्वाईलेटमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ८ गते आइतबार, १९:५५