काठमाडौंः प्रहरीले छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर र पर्साबाट प्रहरीले एक एक जनालाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ सिमलडाडीबाट ६ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भिमदत नगरपालिका–१८ भगतपुर बस्ने २३ वर्षीय प्रभु राज हमाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा बस्ने ३७ वर्षीय लक्ष्मी राउत कुर्मीलाई करिब ३ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो पदार्थ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कुर्मीको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १२:२१