काठमाडौंः प्रहरीले छुट्टाछुट्टै ठाउँबाट नियन्त्रित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ हजार ४ सय ८० ट्याब्लेट नाइट्राजेपाम सहित रौतहट बनबोहरी गाउँपालिका–४ बस्ने २० वर्षीय गुड्डु आलमलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ११११ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा आएका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध ५ एम्पुल फेनारगन, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल डाईजाल्याप र ८ एम्पुल एभिल सहित सुनसरी धरान उपमहानगरपालिका–१९ बस्ने ३१ वर्षीय मन्तस खड्कालाई प्रहरीले आज बिहानपक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ७ गते मंगलबार, १८:५५