काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

झापाको बिर्तामोड नगरपालिका–६ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सहित २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे ना ६ ख ३३५० नम्बरको ट्रकले मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि चढेका पुरुषको मृत्यु भएको हो । मृतक दुबै जनाको सनाखत हुन भने बाँकी रहेको छ । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यस्तै, तनहुँको मानुङकोट जाँदै गरेको हायस माइक्रो आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।


। उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।

यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–१ बर्दिबास चोकमा आज ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेका सिन्धुलीको दुधौली नगरपालिका–१० तिनपाटनका २६ वर्षीय आशालाल परियार रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभस्वतीक अस्पताल बर्दिबासमै मृत्यु भएको हो । ना ७ ख ३९२१ नम्बरको तेल ट्याङकरले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ७ बजे ठक्कर दिएको थियो । मोटरसाइकल चालक शकुसल रहेका छन् भने ट्याङकर चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १६:१७