काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भोजपुरको भोजपुर नगरपालिका–५ मा आज बिहान बलेरोले किचेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय प्रेम कुमार तामाङ रहेका छन् । आफ्नै घर अगाडी पार्किङमा राखेको मे १ ज २९८८ नम्बरको बलेरो स्टार्ट नभएपछि अगाडी गएर मर्मत गर्ने क्रममा अचानक बलेरो गुडेर च्याप्दा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस्तै, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ मा आज बिहान ट्रकबाट खसेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४३ वर्षीय मैनुद्धिन मुसलमानको मृत्यु भएको हो ।


। नम्बर नखुलेको ट्रकको ढालामा चढेका मुसलमान ट्रकबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणीग्राममा मृत्यु भएको हो । संकास्पद ना ७ ख ३४० नम्बरको ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैगरी, काठमाडौंको सिनामंगलमा आज बिहान भएको मोटरसाइकल र पत्रिका बोकेको गाडी आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बा १२ च ६२०८ नम्बरको पत्रिका बोकेको गाडी र बा ६३ प ३४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक भोजपुर घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीय सोनाम शेर्पा र मोटरसाइकलमा पछाडी चढेका सोही ठाउँका ४० वर्षीय आइजु शेर्पा घाइते भएका हुन् । घाइते दुबै जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । घाइतेमध्ये आइजु शेर्पाको अवस्था गम्भीर रहेको छ । पत्रिका बोकेको गाडी सहित गाडी चालकलाई महानगरीय प्रहरी वृत्त गोशालाले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १२:०८