काठमाडौंः आज छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका–३ मा आज ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने २१ वर्षीय रोहित साह रहेका छन् ।

आज बिहान सवा ९ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको ट्याङ्करले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका साहलाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाइएमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुबै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यस्तै, महोत्तरीको मटिहानी नगरपालिका–७ मटिहानीमा आज बिहान भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको मृत्यु भएको हो ।

ना १ ज ३६०० नम्बरको भ्यान पछाडी सार्ने क्रममा बालकलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

भ्यान चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मटिहानीले जनाएको छ ।

यसैगरी, खोटाङको रावावेशी गाउँपालिका–१ डुम्रेपानीमा आज ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । स्थानीय २६ वर्षीय राजन नेपालीको मृत्यु भएको हो ।

को ७ त ४७२७ नम्बरको ट्याक्टर चालक नभएको अवस्थामा आज बिहान साढे ३ बजे परिचालकले नै चलाएर लैजाने क्रममा पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, १९:२९