काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा बिहीबार बेलुकी २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने पछाडी चढेका २ जना घाइते भएका छन् ।

से ६ प ३१६७ र सुदुर पश्चिम प्रदेश ०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका चारै जनालाई उपचारको लागि धनगढी स्थित निःसर्ग अस्पताल पठाइएको थियो । उपचारको क्रममा ३१६७ नम्बरको मोटरसाइकलका चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गोदावरीका २५ वर्षीय आशिष जोशी र ७१५७ नम्बरको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–२ वाणीका ४० वर्षीय जनक बोहोराको मृत्यु भएको हो ।


अन्य २ जनाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ दाउरा डिपो नजिकै बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंकै तार्केश्वर नगरपालिका–३ बस्ने १२ वर्षीय अमृत देवकोटा रहेका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहका देवकोटालाई ठक्कर दिँदा घाइते भएका उनको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा मोटरसाइकलमा चढेका २ जना सामान्य घाइते भएका थिए । उनीहरुको भने त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।

उक्त मोटरसाइकल नजिकै रोकी राखेको अर्को मोटरसाइकलमा समेत ठोक्किन पुगेको थियो ।

यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिका–१ चयनपुरमा बिहीबार बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय हाउ थारु रहेका छन् ।

ना ५ ख ५०७५ नम्बरको ट्रकले पैदल हिंडिरहेका थारुलाई ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २ गते शुक्रबार, ११:५२