काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कपिलबस्तुको कपिलबस्तु नगरपालिका–७ मा आज ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलबस्तुकै बुद्धभुमी नगरपालिका–१० का ३८ वर्षीय प्रल्हाद अहिर रहेका छन् ।

नम्बर नखुलेको ट्याक्टरमा लु २२ प २३५८ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी २७ वर्षीया रिता अहिरको सोही अस्पतालमै उपचार भइरहेको छ ।

संकास्पद लु ४ त ५०९६ नम्बरको ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।


यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२७ बगदी खोलाको पुलमा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीका ४५ वर्षीय डिल्लिराम कुमाल रहेका छन् ।

रिठ्ठेपानीबाट तालचोकतर्फ जाँदै गरेको ग ७ प १९१९ नम्बरको स्कुटर आज बिहान ९ बजे अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ । ।

घाइते भएकी मोटरसाइकलमा चढेकी ४३ वर्षीया भोज कुमारी कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ७ गते बुधबार, १९:४७