काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मा बुधबार बेलुकी बसको ठक्करबाट मोटरसाइकलमा आएकी एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेकी वर्दियाको ठाकुबाबा नगरपालिका–२ बलादीकी २१ वर्षीया तुल्सी पौडेल रहेकी छिन् ।

धनगढीबाट बेलौरी तर्फ जादै गरेको ना ५ ख ८९३२ नम्बरको बसले भे ९ प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको हो ।

बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।


यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडामा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको ग ७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वतको कुश्मा नगरपालिका–१४ का ३५ वर्षीय अनिल वि.क. र पछाडी चढेका सोही ठाउँका २६ वर्षीय भेष बहादुर क्षेत्रीलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो । उपचारकै क्रममा भेष बहादुरको बुधबारै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १४:१०