काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

नुवाकोटको बिदुर नगरपालिका–१ ढुङगेमा आज बिहान बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म हेडक्वाटर बिदुर नुवाकोटमा कार्यरत सशस्त्र प्रहरी जवान दिनेश तामाङ रहेका छन् ।

काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको ग १ ख ८८५८ नम्बरको बसले आज बिहान साढे ६ बजे पैदल हिडिरहेका तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको छ ।

बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।


यस्तै, सर्लाहीको कौडेना गाउँपालिका–२ मा सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २७ वर्षीय बिबेक यादव रहेका छन ।

फुलपरासीबाट इनर्वा तर्फ जाँदै गरेको ज १ त ४६ ८३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी, झापाको गौरादह नगरपालिका–४ मझुवामा सोमबार दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११ ६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२ ७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मे १० प १९६७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ३४ वर्षीय होम प्रसाद उप्रेती रहेका छन् ।

घाइतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

यस्तै, झापाकै दमक नगरपालिका–४ मा सोमबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा झापाको कमल गाउँपालिका–६ बस्ने २४ वर्षीय दोर्ण आचार्य मैनाली रहेका छन् ।

घाइते उनको थप उपचारको लागी बि एण्ड सि अस्पताल झापा पठाईएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ८ प २२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको अस्थाई प्रहरी पोष्ट ताराबारीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २० गते मंगलबार, १०:३७