काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तनहुँ र सर्लाहीमा भएको दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो ।

तनहुँको आँबुखैरनि गाउँपालिका–३ मा आज बिहान ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकलमा आएकी एक किशोरीको मृत्यु भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–६ की १७ वर्षीया अन्वेषा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

मुग्लिनबाट डुम्रे तर्फ जाँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा विपरित दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नम्बरको कारमा ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सबै सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय आँबुखैरनीले नियन्त्रणमा लिएको छ ।


यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका–७ मा शनिबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दि नगरपालिका–६ बस्ने ३५ वर्षीय संजिव कार्की रहेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रकमा विपरित दिशाबाट आउँदै गरेको बा १० प ५०९४ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कार्कीको टेक्सास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकाले खोजी भई रहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २ गते आइतबार, १९:४३