काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मकवानपुर, रुपन्देही, झापा र बाँकेमा भएको दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खोलामा मंंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय श्याम बहादुर भोलन रहेका छन् ।

ना ५९ प ३०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० अभियान पथमा मंंगलबार राति बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।


पुर्व पश्चिम राजमार्गमा नम्बर नखुलेको बसले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

बस सहित फरार भएका चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्ते? झापाको झापा गाउँपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय सनम तामाङ रहेका छन् ।

को १३ प ९०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी शरणामतीले जनाएको छ ।

यसैगरी, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ सुर्यलालपुरमा मंगलबार बेलुकी ट्याक्टरबाट ओर्लने क्रममा सोही ट्याक्टरले च्यापेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरकी कामदार स्थानीय ३८ वर्षीया सिउरानी थारु रहेकी छिन् ।

उपचारको क्रममा गएराती नेपालगञ्ज नर्सिङ होममा उनको मृत्यु भएको हो । भे १ त ५५६० नम्बरको ट्याक्टरबाट ओर्लदै गरेकी थारुलाई ट्याक्टरले च्यापेको थियो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ५ गते बुधबार, १०:१२