काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङमा भएको दुर्घटनामा दुई जना र कैलालीमा दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी नगरपालिका–४ मा शनिबार बेलुकी ट्रकको ठक्करबाट स्कुटरमा आएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका–८ सिसौलीका २३ वर्षीय प्रदिप धामी र २२ वर्षीय सुदिप भुजेल रहेका छन् ।

को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

दुवै सवारी साधन सहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।


यसैगरी, कैलालीको कैलारी गाउँपालिका–३ मा पनि शनिबार बेलुकी गाडामा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ४२ वर्षीय खगेन्द्र चौधरी रहेका छन् ।

धनगढी स्थित निःसर्ग अस्पतालमा उपचारको क्रममा उनको हिजो बेलुकी नै मृत्यु भएको हो । गाडामा अनटेष्ट लेखिएको मोटरसाइकल ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ९ गते आइतबार, १०:३९